हेटौँडा/ नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले हेटौँडाबाट आगामी निर्वाचन लक्षित संगठन सक्रियता अभियान सुरू गरेका छन्। शनिबार हेटौँडा–४ भैरव रोडस्थित पार्टी कार्यालयमा उनले मकवानपुरका अगुवा कार्यकर्तासँग भेट्दै पार्टीलाई चुनावमुखी बनाउने रणनीति अघि सारेका हुन्।
कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलले गरेका थिए। नेपालले कार्यकर्तालाई “देश गम्भीर मोडमा पुगेको” बताउँदै सचेत र संयमित रहन आग्रह गरे। उनका अनुसार हालको राजनीतिक अस्थिरता र वैचारिक भ्रमको कारणले जनतामाझ वाम मूल्यहरूलाई व्यवहारिक रूपले पुनः प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको छ।
नेपालले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा बाह्य घुसपैठका कारण हिंसात्मक रूप लिएको टिप्पणी गर्दै त्यसलाई “दुःखद र निन्दनीय” भने। उनले आन्दोलनका क्रममा ज्यान गुमाउने विद्यार्थी र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै “शान्तिपूर्ण माग र हिंसात्मक अराजकता बीच स्पष्ट भिन्नता जनताको बुझाइमा ल्याउनुपर्ने” बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले देशमा उत्पन्न राजनीतिक तनावका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको “घमण्डपूर्ण व्यवहार” जिम्मेवार रहेको आरोप लगाए। उनका अनुसार, “ओलीको अहंकारले देश अस्थिर भयो, तर उनको दम्भ अझै घटेको छैन।”
नेपालले पार्टी एकताको सवालमा “मसिनो गृहकार्य भइरहेको” जनाउँदै वाम शक्तिहरूबीच सहकार्यको बाटो खुल्ने संकेत पनि दिए।
भेटघाट कार्यक्रममा केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी समिति सदस्य नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादव गजुरेल, प्रदेश सदस्य माधव तिमल्सिना, जिल्ला सचिव किशोर बर्तौला र युवा नेता किशोर टण्डनलगायत उपस्थित थिए।

















