हेटौंडामा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ७ थान मोटरसाइकल नियन्त्रणमा

Image

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सात थान मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूमा कम्पनीले तोकेको मूल स्वरूप परिवर्तन गरी अनधिकृत रूपमा पार्टपुर्जा फेर्ने, साइलेंसर परिवर्तन गरी ठुलो आवाज निकाल्ने, रातको समयमा चर्को ध्वनि उत्पन्न गरी समाजमा आतंक सृजना गर्ने गतिविधिमा संलग्न रहेका थिए।

यस्ता कार्यहरूले सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सुव्यवस्था खलल पर्ने हुँदा प्रहरीले ती मोटरसाइकलहरू नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।