हेटौंडा/ विगतका वर्षझैँ यस वर्ष पनि हेटौंडा जेसीजले जेसिज सप्ताह–२०२५ भव्य रूपमा मनाउने तयारी गरेको छ। आगामी कात्तिक १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने यस सप्ताहमा सामाजिक सेवा, युवा सशक्तीकरण र चेतनामूलक कार्यक्रमहरू समावेश गरिएका छन्। आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा हेटौंडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कार्यक्रमको विस्तृत जानकारी दिएका हुन्।
उनका अनुसार, सप्ताहको पहिलो दिन कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। सोही दिन बिहान ८ः३० बजे स्लो बाइट प्रतियोगिता पनि आयोजना गरिनेछ।
त्यसपछिको दिन कात्तिक १९ गते बिहान अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता र दिउँसो भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम सञ्चालन हुनेछ।
त्यस्तै, कात्तिक २० गते विद्यालयस्तरीय हाजिरी–जवाफ प्रतियोगिता जेसिज सचिवालयमा आयोजना गरिनेछ, जसमा कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत, कात्तिक २१ गते मकवानपुरगढी–६, गुरदाङस्थित अति विपन्न एक परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिने कार्यक्रम तय गरिएको छ।
सप्ताहको अन्तिम दिन कात्तिक २२ गते समापन समारोह आयोजना हुनेछ, जसमा उत्कृष्ट सदस्य र उत्कृष्ट कार्यक्रम संयोजकलाई अवार्ड
प्रदान गरिनेछ। अध्यक्ष बानियाँका अनुसार, जेसिज सप्ताहले युवामा नेतृत्व, सेवा भावना र सामाजिक उत्तरदायित्वको संस्कार अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

















