हेटौंडा / मकवानपुर जिल्लाको ऐतिहासिक र उत्कृष्ट शैक्षिक प्रतिष्ठान भुटनदेवी माध्यमिक विद्यालयमा ३५ वर्ष लामो समर्पित सेवापछि प्रधानाध्यापक माधवप्रसाद दाहाल अनिवार्य अवकाशमा जानुभएपछि उहाँको सम्मानमा विशेष बिदाइ तथा नयाँ जिम्मेवारी सम्हाल्नुभएका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमीरेलाई बधाई एवं शुभकामना कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा निवर्तमान प्रधानाध्यापक दाहालप्रति विद्यालयको समग्र उन्नयनमा पुर्याउनुभएको उल्लेखनीय योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँको आगामी जीवनयात्राको सुख, स्वास्थ्य र सफलता कामना गरिएको थियो।
सोही अवसरमा निमित्त प्रधानाध्यापकका रूपमा नियुक्त सूर्यप्रसाद घिमीरेलाई स्वागत तथा बधाई दिँदै विद्यालयलाई अझ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरिएको थियो।
हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देलले विद्यालयको समृद्धि र गुणस्तरीय शिक्षामा माधवप्रसाद दाहालले पुर्याउनुभएको योगदानलाई उच्च मूल्यांकन गर्दै, नयाँ नेतृत्वमा विद्यालयले निरन्तर प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय परिवारका तर्फबाट निवर्तमान प्रधानाध्यापक दाहाललाई सम्मानपत्र, माला र स्मृतिचिन्ह प्रदान गरिएको थियो।












