शिक्षामा लगानी बढाउँदै हेटौंडा–४, गुणस्तर अभिवृद्धिका ठोस कार्यक्रम अघि सारियो

Image

हेटौंडा / शैक्षिक क्षेत्रलाई दीर्घकालीन विकासको आधार मानेर हेटौंडा–४ ले आगामी ६ महिनाका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। वडास्तरीय शैक्षिक गुणस्तर सुधार समितिको बैठकले क्षेत्रका विद्यालयलाई शैक्षिक केन्द्रका रूपमा रुपान्तरण गर्न विविध कार्यक्रमको घोषणा गरेको हो।

वडा अध्यक्ष नवीन सिग्देलका अनुसार राजधानी बनेको बागमती प्रदेशका लागि हेटौंडा–४ लाई ‘शैक्षिक हब’ बनाउने उद्देश्यसहित बजेट र कार्यक्रम दुवै तहमै प्राथमिकता दिइएको छ। “पूर्वाधार मात्रै पर्याप्त हुँदैन, सिकाइको गुणस्तर सुधार गर्न अहिलेको समय अत्यावश्यक छ,” उनले बैठकमा भने।

समितिले मंसिरदेखि बैशाखसम्म लागू हुनेगरी शिक्षक तालिम, विद्यार्थी उद्यमशीलता विकास कार्यक्रम, बृहत् शैक्षिक तथा सांस्कृतिक मेला, वडास्तरीय खेलकुद प्रतियोगिता र उत्कृष्ट शिक्षक–विद्यार्थी सम्मान लगायतका कार्यक्रम अघि सारेको छ। साथै, विद्यालयमा चलिरहेको पूर्वाधार विकास कार्यलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ।

बैठकमा भुटनदेवी, आधुनिक राष्ट्रिय, श्रमिक लगायतका सामुदायिक विद्यालय तथा नवनोदय, ब्रम्हदीक, सत्यम जेभियर्स, आमसाई र रोज एकेडेमीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।
यस्तै, भुटनदेवी माविका अनिवार्य अवकाशमा गएका प्रअ माधवप्रसाद दाहालले सम्हाल्दै आएको कोषाध्यक्ष पद रिक्त भएपछि समितिले सो जिम्मेवारी निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई दिने निर्णय गरेको छ। सो अवसरमा उपस्थित सदस्यहरूले पूर्व प्रअ दाहालको योगदानप्रति आभार व्यक्त गर्दै नव–नियुक्त घिमीरेलाई बधाई दिएका थिए।