हेटौंडा / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत गृह मन्त्रालय वा सोही अन्तर्गतको कार्यालयमा सरुवा भई जानु भएको अवसरमा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा गाउँपालिकाले सोमबार एक विशेष विदाई तथा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाका पदाधिकारी, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले बस्नेतले कार्यकालभर देखाउनुभएको नेतृत्व क्षमता, अनुशासन र सेवाभावको उच्च प्रशंसा गरे। गाउँपालिकाको प्रशासनिक सुधार, सेवा प्रवाह र विकास योजनाको व्यवस्थापनमा उहाँको योगदान उल्लेखनीय रहेको उनीहरूले बताए।
कार्यक्रममा बस्नेतज्यूलाई सम्मानपत्र तथा स्मृति चिन्ह प्रदान गरिँदै आगामी कार्यक्षेत्रमा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।
विदाई कार्यक्रममा बोल्दै बस्नेतले राक्सिराङ्गमा बिताएको कार्यकाल आफूका लागि विशेष स्मरणीय रहेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रमका अन्त्यमा गाउँपालिकाको तर्फबाट उँहाको उज्ज्वल भविष्यको कामना गर्दै औपचारिक रूपमा विदाई गरियो।

















