हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका–६ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ। अनुगमनको क्रममा विद्यालयमा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायबारे विद्यालय प्रशासन, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाबीच विस्तृत अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न गरिएको हो। 
कार्यक्रममा सहभागीहरूले विगतमा पहिचान भएका कमजोरीहरूलाई सम्बोधन गर्दै विद्यालयलाई नयाँ ढंग तथा प्रभावकारी तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिए। गुणस्तरीय, सबल तथा सुलभ शिक्षा सुनिश्चित गर्न सबै पक्षबाट सक्दो सहयोग, समन्वय र प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष कार्यक्रमले निकालेको राक्सिराङ् गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो।
छलफलमा सहभागी सरोकारवालाहरूले विद्यालयको शैक्षिक वातावरण सुधार, सिकाइ प्रभावकारिता बढाउने उपाय, अनुशासन, पूर्वाधार व्यवस्थापन तथा जनसहभागितालाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेकाे अध्यक्ष मल्लले बताउनुभयो।

















