हेटौंडा / पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ र ६ जोड्ने कर्मचुली–जुइना सुकौरा खोला मल्टिसेल बक्स पुलको शिलान्यास बुधबार सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक कार्यक्रमका बीच पुल निर्माणको शिलान्यास गर्नुभएको हो।
बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १२० मिटर लामो पुल निर्माण हुने भएको हो। पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिए पनि श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते कम लागतमा ठेक्का सम्झौता गरेको हो। कार्य २०८४ असार ७ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।
पुल निर्माणपछि करिब ८ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्। वर्षायाममा आवतजावतमा समस्यामा पर्ने बकैया–६ का विद्यार्थी, किसान तथा स्थानीयवासीका लागि सहज हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कतर्फ यातायात सञ्जाल मजबुत हुने अपेक्षा गरिएको छ।
शिलान्यास समारोहका क्रममा मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै संघीयताले स्थानीय क्षेत्रमा विकासको गति बढाएको बताउनुभयो। जेनेरेसन जेडको आन्दोलनले समाजमा प्रभाव पारेपनि युवाहरूको माग सम्बोधन गर्दै प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन प्रतिवद्ध रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भएको र पुल समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उत्पादनसँग आबद्ध भई आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने उहाँको धारणा थियो।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व अध्यक्ष दामोदर खनाल, पूर्व उपाध्यक्ष सरला बोलखे तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको उपस्थिति रहेको थियो।

















