बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

Image

हेटौंडा /पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्माण गरिएको सुविधा सम्पन्न प्रशासनिक भवनको बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गर्नुभयो।

मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र होइन, मन नलागे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता पनि दिएको बताए। उहाँले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना निर्माण गरेको उल्लेख गर्दै वर्तमान व्यवस्थाप्रति असन्तुष्ट भएकाहरू अझै सक्रिय रहे पनि यस्तो सोच टिकाउ नहुने धारणा राखे।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिएमा सुधार गर्न सकिने, गल्ती गर्नेले कानुनी दण्ड भोग्नुपर्ने र प्रणालीलाई निरन्तर सुदृढ गर्दै लैजान सकिने व्यवस्था स्थापित भइसकेको छ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा लगायतका क्षेत्रका विकास–निर्माणमा गाउँपालिकाले ठूलो निवेश गर्दै आएको बताए। पूर्वाधारका हिसाबले पनि बकैया गाउँपालिका मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको दाबी गर्दै उनले आयआर्जनका क्षेत्रमा पालिकाले प्रभावकारी काम गरेको बताए।

अध्यक्ष लामिछानेले भने, “पहिले ‘बच्चा पढाउन गाह्रो’, ‘घर चलाउन कठिन’ भन्ने समस्या थियो। अहिले गाउँपालिकाले नयाँ अवसर सिर्जना गरेपछि धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन्। विदेश जाने तयारीमा रहेका युवाहरू पनि अहिले ५–१० वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुँदैछ भनेर यतै लागेका छन्। यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारिरहेको छ।”

गाउँपालिका वडा नम्बर ३ हात्तीसुंडेस्थित कार्यालय परिसरमा चार तले भव्य प्रशासनिक भवन निर्माण गरिएको हो। यसअघि पालिका कार्यालय ट्रष्टको भवनमा सञ्चालन हुँदै आएको थियो। नवनिर्मित भवनमा प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधा, बैठक कक्ष, पार्किङलगायत आधुनिक संरचना छन्।

संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत साझेदारीमा बनेको भवनमा अध्यक्ष–उपाध्यक्ष कार्यकक्षसहित २८ कोठा, २ सभा हल, सेवाग्राही कक्ष, भान्सा कोठा, स्टोर र शौचालयलगायत सबै सुविधा समावेश छन्।

२०७९ जेठ ३१ गते सम्झौता भई २०८१ असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समय थपेर गत भदौ ३१ गते मात्र निर्माण सम्पन्न भएको हो। प्रारम्भिक सम्झौताअनुसार भवन निर्माण लागत ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ तय गरिएको थियो भने काम थपिएसँगै कुल लागत ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको र त्यही अनुसार निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ।

उद्घाटन समारोह बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षता र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, पूर्व उपाध्यक्ष सरला बोलखे, विभिन्न राजनीतिक दलका नेताहरू, समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।