मेरो बुलन्द आवाज जूनियर सिजन–१’ मकवानपुरमा हुने

Image

हेटौंडा/ मकवानपुरमा पहिलोपटक पब्लिक स्पिकिङ रियालिटी शो ‘मेरो बुलन्द आवाज जूनियर सिजन–१’ आयोजना हुने भएको छ। मनको कुरा मञ्चसम्म भन्ने नारासहित आयोजना गर्न लागिएको कार्यक्रमबारे बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराइएको हो।

पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौंडाको संयुक्त प्रयासमा आयोजना हुन लागेको यो कार्यक्रमबारे ट्रेनिङ सेन्टरका प्रमुख रुपक कालिराजले विद्यार्थीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला तथा नेतृत्वगुण विकासका लागि कार्यक्रम लक्षित गरिएको बताए। उनका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयमै पुगेर अडिसन लिने तयारी गरिएको छ।

कार्यक्रमका निर्देशक अनन्त खुलालका अनुसार मेघा अडिसनका लागि स्टुडियो निर्माण अन्तिम चरणमा पुगेको छ भने प्रि–अडिसन २०८२ मंसिर १५ गतेदेखि सुरु हुनेछ। प्रवेश निःशुल्क रहेको अडिसनमा करिब ५०० जनासम्म सहभागिता हुने अपेक्षा गरिएको छ।

अडिसन प्रक्रियामा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरू निर्णायकका रूपमा रहनेछन्। जसमा खोजपत्रकारिता तथा टेलिभिजनका कार्यक्रम संयोजक/ब्युरो प्रमुखको रूपमा लामो अनुभव राख्ने देवराज पन्त, आधुनिक राष्ट्रिय माविकी सह–प्रधानाध्यापक तथा अंग्रेजी प्रशिक्षक मालती पोखरेल, र शिक्षक एवं साहित्यकर्मी कमल नेपाल प्रमुख निर्णायकका रूपमा रह्नेछन्। अडिसन अवधिभर अतिथि

निर्णायकहरूको सहभागिता पनि रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोश्रो हुनेले ३० हजार, तेश्रो हुनेले २० हजार, शिल्ड तथा प्रमाणपत्र पाउनेछन्।

कार्यक्रम संचालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।