हेटौंडा/ मकवानपुरको हेटौँडा–४ कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मङ्सिर ११ गते साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.३८प ५८५० नम्बरको मोटरसाइकलले कर्रा क्षेत्र बस्दै आएकी ५५ वर्षीया खुइली डोमलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई १८:४२ बजे हेटौँडा अस्पताल पुर्याइए पनि १८:५० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।
घटनापछि मोटरसाइकल चालक बारा सिम्रौनगढ–११ का २५ वर्षीय सुनिल ठाकुरलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। मृतकको शव हेटौँडा अस्पतालमै राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


















