हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका–४ ठुलोमार्खुमा एक पुरुष लडेर मृत्यु भएको छ। कैलाश गाउँपालिका–५ ठोस्ने घर भई हाल ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेती–किसान गर्दै बस्दै आएका ४८ वर्षीय मानबहादुर जिम्बा सोमबार राति लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मिति २०८२/०८/१२ गते राति १० :०० बजे, जिम्बा घरमै बसिरहेको अवस्थामा अचानक लडेर बेहोस भएका थिए। घटनाबारेको खबर भोलिपल्ट १:०० बजे प्रहरी चौकी सिमभञ्ज्याङमा प्राप्त भएको थियो।
सूचना पाए लगतै प्र.स.नि. कृष्ण मोहन प्रसाद गुप्ताको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको र स्थान सुरक्षित राखिएको प्रहरीले जनाएको छ। त्यसपछि थप अनुसन्धान तथा मुचुल्का कार्यका लागि इ.प्र.का. पालुङबाट प्र.नि. रुख्शा बज्राचार्यलगायतको SOCO टोली खटिएको थियो।
मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएपछि मृतकको शव ५:२० बजे पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीको भनाइ छ।
घटना स्थल प्र. चौकी सिमभञ्ज्याङबाट करिब ५ किमी पूर्व र इलाका प्रहरी कार्यालय पालुङबाट करिब १८ किमी दक्षिणपूर्व दूरीमा पर्छ।

















