हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिका–२ कुडुलेस्थित सरिखेत स्वास्थ्य चौकीको नयाँ भवन सोमबार शिलान्यास गरिएको छ। राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साढे एक तले भवनको शिलान्यास गरिएको हो। करिब १ करोड १८ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको यस भवनले दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पहुँच अझै सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
शिलान्यास समारोहमा अध्यक्ष मल्लले केही समयअघिसम्म सिटामोलजस्ता सामान्य औषधिको अभाव देखिएको पालिका अहिले स्वास्थ्य पूर्वाधार विकासमा तीव्रगतिले अघि बढिरहेको बताए। सुत्केरी आमा पोषण कार्यक्रममार्फत स्वास्थ्य संस्थामा आउने सेवाग्राही बढेको उल्लेख गर्दै उनले जीर्ण र कच्चा भवनमा काम गर्दै आएका स्वास्थ्यकर्मीलाई नयाँ भवनले सुरक्षित र सहज वातावरण प्रदान गर्ने बताए।
अध्यक्ष मल्लले बाँकी रहेको १८ महिनाको कार्यकालभित्र भवनको निर्माण सम्पन्न गरी थप स्वास्थ्य सेवा विस्तारमा गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिए।
कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष बुद्धराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य संयोजक विजय कुमार कापरी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी, प्रशासन सहायक पुनम कुमार रुम्बा, वडा सचिव लोकेंद्र ओलीलगायत स्थानीयवासी र स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।
हाल सरिखेत स्वास्थ्य चौकीले वडा नं. १, २ र ३ का नागरिकलाई सेवा प्रदान गर्दै आएको छ। राक्सिराङ गाउँपालिकामा हाल ५३ स्वास्थ्यकर्मी कार्यरत छन्। ३ स्वास्थ्य चौकी, १ आधारभूत अस्पताल, ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र, १ आयुर्वेदिक औषधालय र १ सामुदायिक स्वास्थ्य सेवा इकाइसहित गाउँपालिकामा १२ स्वास्थ्य संस्थामार्फत सेवा प्रवाह भइरहेको छ।
गाउँपालिकाका ९ वडामध्ये वडा नं. १, ७ र ८ मा अझै स्वास्थ्य सेवा पहुँच चुनौतीपूर्ण रहेको गाउँपालिकाले जनाएको छ।


















