हेटौंडामा सडक विस्तार तीव्र, अवरोधकर्तालाई प्रशासनको अन्तिम चेतावनी

Image

हेटौंडा/ हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि आवश्यक तयारी पूरा भइसकेको र स्थानीय व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणको उल्लेखनीय सहयोग प्राप्त भइरहेको समयमा केही व्यक्तिबाट विकास कार्यमा अवरोध गरिने प्रयास भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा चेतावनी दिएको छ।

सडक डिभिजन कार्यालय मकवानपुरले २०८२ मंसिर ५ गते जारी गरेको सूचनाअनुसार हेटौंडा बजारको सडक विस्तार कार्य तय समयसारणीअनुसार अघि बढिरहेको छ। यसअन्तर्गत व्यवसायीहरूले आफ्ना पसल स्थानान्तरण गर्न तथा सामान छुटमा बिक्री गरी कार्यालयका निर्देशनअनुसार सहयोग गरिरहेको प्रशासनले जनाएको छ।

तर, यिनै सकारात्मक गतिविधि बीच केही व्यक्तिहरूले व्यवसायीहरूलाई धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र कानुनसम्मत विकास कार्यमा अवरोध पुर्‍याउने घटना देखिएको भन्दै जिल्ला प्रशासनले गम्भीर ध्यानाकर्षण गरेको छ।

जिल्ला अधिकारीले जारी गरिएको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “सडक विस्तार कार्यमा कानुन विपरीत गतिविधि नगर्न तथा नगराउन सम्पूर्णलाई अनुरोध गर्दछौं। यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिनेछ।”

प्रशासनले हेटौंडा बजार क्षेत्रको समृद्धि र व्यवस्थापनका लागि सडक विस्तार अनिवार्य भएको बताउँदै सर्वसाधारण तथा व्यवसायीहरूको निरन्तर सहयोगको प्रशंसा समेत गरेको छ।