हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ स्थित बालजागृती इङ्लिस सेकेन्डरी स्कुलले आयोजना गर्ने ११औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ। विद्यालय परिसरमै सञ्चालन हुने सो प्रतियोगिता सम्बन्धी तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल विनोद सुवेदीले आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए।
दुई दिन चल्ने प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट करिब एक सय प्रतियोगीले सहभागिता जनाउनेछन्। करिब १३ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूले क्रमशः १५ हजार, १३ हजार र ११ हजार रुपैयाँसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
स्कुलका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्क्राबल क्षेत्रमा सक्रिय विज्ञहरूको उपस्थिति रहेको थियो।
स्क्राबल : मनोरञ्जनसँगै शब्दज्ञान विकास गर्ने माध्यम
भाषिक दक्षता र शब्दज्ञान विस्तारमा स्क्राबललाई प्रभावकारी खेलको रूपमा हेरिन्छ। अक्षर संयोजनमार्फत शब्द निर्माण गर्ने यो बोर्ड गेमले विद्यार्थीको शब्दभण्डार, स्मरणशक्ति, विश्लेषण क्षमता तथा संवाद कौशल वृद्धिमा योगदान पुग्ने आयोजकहरूको भनाइ छ।
विश्वका १२० भन्दा बढी देशमा खेलिइने स्क्राबल १९४८ पछि व्यावसायिक रूपमा परिचित बन्यो। नेपाल स्क्राबल क्लब २०१९ देखि वेस्पाको सदस्य बनेर विश्व युवा स्क्राबल प्रतियोगितामा सहभागी हुँदै आएको छ। क्लबले विद्यालयस्तरमै स्क्राबल क्लव स्थापना, तालिम एवं प्रतिस्पर्धामार्फत विद्यार्थीलाई खेलमुलक सिकाइमा प्रोत्साहित गर्दै आएको समेत जानकारी दिइयो।
स्क्राबलमार्फत सिकाइमा सक्रिय भएका विद्यार्थीहरूमा भाषिक तथा मानसिक दुवै कौशलमा उल्लेखनीय सुधार देखिएको आयोजकहरूको अनुभव छ।


















