हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको ७६औं कार्यपालिका बैठकले सडक विस्तारबाट प्रभावित घरधनी र व्यवसायीका लागि राहत तथा सहजीकरणका श्रृंखलाबद्ध निर्णयहरू गरेको छ। बैठकले सहुलियतपूर्ण ऋण सहज उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने, व्यवसाय बन्द भएका व्यापारीलाई लगत संकलन गरी व्यवसाय सुरु नहुँदासम्म कर छुट प्रस्ताव गर्ने निर्णय गरेको छ।
जग्गा बाँकी नरहने र आवासविहीन बनेका परिवारलाई मालपोत कार्यालयमार्फत विवरण प्रमाणीकरण गरी आवास व्यवस्थापनका लागि समन्वय गर्ने उपमहानगरपालिकाले जनाएको छ। प्रभावित क्षेत्रमा ‘हेटौंडा पहिचान’ झल्किने नमूना घर मोडल कार्यान्वयन, फास्ट-ट्र्याकमार्फत नक्सापास सेवा, २०२० वर्गफिटसम्म नक्सापास दस्तुर छुट र निर्माण सामग्री आपूर्तिमा सहजीकरण पनि निर्णयमा समावेश छ।
त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा घोषणा गर्न संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको उपमहानगरपालिकाले सडक विस्तारमा सहयोग गर्ने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरेको छ।


















