हेटौंडा /जेन जी आन्दोलनको क्रममा मिति २०८२/०५/२४ गते पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको निजी निवासमा तोडफोड तथा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
हेटौडा उपमहानगरपालिका–११ का ३७ वर्षीय सुरेन्द्र राना मगर तथा ३६ वर्षीय सुजन अधिकारीले आन्दोलनका क्रममा पौडेलको नवलपुर–११ स्थित घरमा तोडफोड र आगजनी गरी आपराधिक उपद्रव गरेको भन्दै उनीहरूविरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो।
उक्त घटनाको अनुसन्धान सम्पन्न भएपछि मकवानपुर जिल्ला अदालतले मिति २०८२/०८/२१ गते दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशअनुसार सुरेन्द्र राना मगर र सुजन अधिकारीलाई भिमफेदीस्थित कारागारमा पठाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


















