उद्योगबाट सामुदायिक विद्यालयका १०४ छात्रालाई छात्रवृत्ति, आठ महिनाको शुल्क शिवम् सिमेन्टले तिरिदियो

Image

हेटौंडा/ सामुदायिक विद्यालयमा छात्राहरूको सङ्ख्या घट्दै गएको परिस्थितिमा हेटौंडा–१७ हटियास्थित शिवम् सिमेन्ट लिमिटेडले स्थानीय लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरेको छ।

उद्योग प्रभावित क्षेत्रअन्तर्गत रहेको उक्त विद्यालयका १०४ जना छात्राहरूका लागि चालु शैक्षिक सत्रमा लाग्ने विद्यालय शुल्क शिवम् सिमेन्टले वहन गरेको हो।

विद्यालयले विद्यार्थीबाट लिने शुल्कमध्ये आठ महिनाको शुल्क बराबरको १ लाख ७९ हजार ४ सय रुपैयाँ उद्योगले प्रदान गरेको हो। उक्त रकम मंगलबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको विद्यालयका पदाधिकारीहरूले जानकारी दिए।

कार्यक्रममा उद्योगका उपमहाप्रबन्धक राजेन्द्र शर्माले वडासदस्य लेखकुमारी तिमल्सिनाको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई छात्रवृत्तिको चेक हस्तान्तरण गरे। उद्योगका अनुसार कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्राहरूका लागि छात्रवृत्ति व्यवस्था गरिएको हो।

विद्यालयका प्रमुख यदुदेव उपाध्याय सिग्देलले उद्योगले उपलब्ध गराएको सहयोगले छात्राहरूको मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले उद्योगसँग आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्ति उपलब्ध गराउन माग पनि राखे। “प्रभावित क्षेत्रको विद्यालय भएकोले उद्योगले अझै विशेष ध्यान दिन आवश्यक छ,” उनले भने।

प्रधानाध्यापक सिग्देलका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि वर्षमा कम्तीमा दुई पटक स्वास्थ्य शिविर सञ्चालन तथा स्वास्थ्य बीमा सुनिश्चित गर्नुपर्ने आवश्यकता छ। यसअघि पनि उद्योगले सामाजिक दायित्वअन्तर्गत विद्यालयमा कम्पाउन्ड वाल, स्कुल बस, कम्प्युटर तथा प्रिन्टरलगायत सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ।

कार्यक्रममा उद्योगका प्रबन्धक सुशिला दाहाल, कल्याण सुवेदी, नरबहादुर खत्री, उपप्रबन्धक मुकेश कुमार, वरिष्ठ अधिकृत रामकुमार कँडेलसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो।