हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका–स्तरीय शैक्षिक प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। बुधबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयमा आयोजित उक्त प्रदर्शनीमा गाउँपालिकाका ८ विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
वडा नं. ३ की कार्यवाहक अध्यक्ष राममाया प्रजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथि रहनुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विद्यार्थीहरूले सिर्जना गरेका शैक्षिक सामग्रीहरूले उनीहरूको सीप, ज्ञान र नवीन सोचलाई उजागर गर्ने उल्लेख गर्दै, यस्ता कार्यक्रमले विद्यार्थीबीच सिकाइ आदान–प्रदान र practically अनुभव बृद्धि हुने बताउनुभयो। उहाँले नीति तथा कार्यक्रममा समेटिएकै आधारमा आगामी वर्षहरूमा अझ व्यापक रूपमा प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय (कैलाश–२) प्रथम, कालिका माध्यमिक विद्यालय (कैलाश–९) द्धितीय र कमलादेवी माध्यमिक विद्यालय (कैलाश–२) तृतीय घोषित भए। उत्कृष्ट विद्यालय र विद्यार्थी समूहले नगद राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीका अनुसार प्रदर्शनीको उद्देश्य आधारभूत (कक्षा १–८) र माध्यमिक तहका विद्यार्थीहरूको आन्तरिक प्रतिभा पहिचान, सिर्जनशीलता विकास र सिकाइ आदान–प्रदानलाई संस्थागत बनाउनु थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका सामग्रीहरूको मूल्यांकनका आधारमा उत्कृष्टता निर्धारित गरिएको जोशीले बताए।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मूल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, इन्जिनियर अनिलप्रसाद जोशी, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको उपस्थिति रहेको थियो।


















