हेटौंडा/ जेन–जि जनआन्दोलनका संस्थापक तथा मकवानपुर संयोजक सुबिन खत्री नेपाल सरकार र केही जेन–जि समूहबीच गरिएको हालैको सम्झौतापत्रप्रति औपचारिक रूपमा असहमति जनाएको छन्। उनले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत सम्झौतामा आन्दोलनका मूल मर्म, भावना र निर्णायक निष्कर्षहरू समुचित रूपमा समेटिन नसकेको भन्दै घोर आपत्ति व्यक्त गरेका हुन्।
विज्ञप्तिमा खत्रीले आन्दोलनका प्रमुख तथा रूपान्तरणकारी मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा उल्लेख नभएकाले सम्झौता स्वीकार्य नभएको बताएका छन्। उनका अनुसार चुनावअघि मागहरूको कार्यान्वयन सुनिश्चित गर्ने कुनै विश्वसनीय व्यवस्था नराखिएको कारण उक्त सम्झौता जनआन्दोलनको उद्देश्य विपरीत छ।
खत्नीले केही सीमित स्वार्थ समूहसँग गरिएको राजनीतिक सहमतिले देशमा थप अविश्वास र अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्। “जनताको बलिदान, भावना र परिवर्तनको चाहनालाई बेवास्ता गरी गरिएको कुनै पनि समझदारी हामी स्वीकार गर्न सक्दैनौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
सर्वपक्षीय सहमति विना गरिएको निर्णयले पुनः अस्थिरता, अविश्वास र नैतिक जिम्मेवारीहीन अवस्था सिर्जना हुने भन्दै उनले प्रस्तुत सम्झौताले आन्दोलनलाई कमजोर पार्ने प्रयास भएको आरोप लगाए। राष्ट्रहित र जनआन्दोलनका मूल मूल्यहरूमा सम्झौता हुन नसक्ने बताउँदै खत्नीले उक्त सम्झौतापत्रको घोर विरोध जनाएका छन्।
जेन–जि जनआन्दोलन पक्षले अब कुनै पनि सहमति वा सम्झौता राष्ट्रिय स्थिरता, न्यायसंगत मूल्यांकन र आन्दोलनका मुख्य मुद्दा सुरक्षित हुनेगरी मात्र अघि बढाउनुपर्ने माग गरेको छ।

















