उपमहानगरपालिकाको लापरबाहीले स्वास्थ्य संकट निम्त्यायो: सेवा सहयोगको चेतावनी

Image

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिँदै आएको आगलागीको घटनाप्रति स्थानीय नागरिक तथा सरोकारवालाले कडा विरोध जनाएका छन्। उनीहरूले यो आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शी सोच र असक्षम फोहोर व्यवस्थापन नीतिको परिणाम भएको आरोप लगाएका छन्।

सेवा सहयोग आज हामी संस्थाका अध्यक्ष विशाल राज महतले डम्पिङ स्थलमा जम्मा गरिएको फोहोरबाट निस्कने ग्यास तथा प्लास्टिकजन्य पदार्थमा आगो लाग्दा वर्षेनी धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिने गरेको बताए। यसले स्थानीय बासिन्दाको दैनिकी प्रभावित हुनुका साथै दीर्घकालीन स्वास्थ्यमा गम्भीर असर पारिरहेको उनको भनाइ छ।

उनका अनुसार आगलागीका कारण श्वासप्रश्वाससम्बन्धी रोग, छाला तथा आँखाका समस्या बढ्दै गएका छन् भने बालबालिका र ज्येष्ठ नागरिकमा जटिल स्वास्थ्य समस्या देखिन थालेका छन्।
संस्थाद्वारा जारी विज्ञप्तिमा उपमहानगरपालिकाले हालसम्म फोहोरको वैज्ञानिक वर्गीकरण (जैविक र अजैविक) व्यवस्थित रूपमा गर्न नसकेको, नियमित अनुगमन नगरेको तथा आगलागी नियन्त्रणका लागि आवश्यक संयन्त्र विकास गर्न असफल भएको उल्लेख गरिएको छ। प्रभावित नागरिकप्रति उत्तरदायित्व नदेखाइनु संस्थागत असफलताको स्पष्ट संकेत भएको उनीहरूको ठहर छ।

विज्ञप्तिमार्फत डम्पिङ स्थलमा बारम्बार हुने आगलागीको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरिएको छ। साथै वैज्ञानिक र दिगो फोहोर व्यवस्थापन प्रणाली लागू गर्दै जैविक फोहोरको प्रशोधन (कम्पोस्ट वा बायोग्यास) र रिसाइकल प्रक्रियालाई अनिवार्य तथा प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ।

प्रभावित क्षेत्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा क्षतिपूर्ति सुनिश्चित गर्न पनि माग गरिएको छ। यदि यस्ता घटनालाई सामान्य भन्दै बेवास्ता गरिए चुप लागेर नबस्ने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, “यो फोहोरमा लागेको आगो होइन, लापरबाहीपूर्ण शासन प्रणालीमा लागेको आगो हो।”

हेटौंडाको स्वच्छ वातावरण, जनस्वास्थ्य र भविष्य सुरक्षित गर्न तत्काल कदम चाल्नुपर्ने माग गर्दै उनीहरूले पटक–पटकको लापरबाहीप्रति कडा आपत्ति जनाएका छन्। मागको सुनुवाइ नभए हेटौंडा उपमहानगरपालिका घेराउ गर्नेसम्मका कार्यक्रम अघि बढाइने चेतावनी दिँदै नागरिकको स्वास्थ्यसँग गरिएको खेलवाड सह्य नहुने बताएका छन्।