हेटौंडा/ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ।
२८ गते करिब २:०० बजेको समयमा राक्सिराङ गाउँपालिका–८, राजराङका वर्ष ४५ का गोपाल ब्लोन र मनहरी गाउँपालिका–६, बालुभञ्ज्याङका वर्ष ५० का सेते थिङ सिकार गर्न जंगलतर्फ गइरहेका थिए। दुबै जनाले आ–आफ्नो साथमा एक–एक थान भरुवा बन्दुक बोकेका थिए।
प्रहरीका अनुसार अगाडि हिँडिरहेका गोपाल ब्लोन लहरामा अल्झिएर लड्न जाँदा उनले बोकेको भरुवा बन्दुक आकस्मिक रूपमा पड्किएको थियो। सोही गोली पछाडि हिँडिरहेका सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि गोपाल ब्लोनले सोही दिन दिउँसो ४:४० बजे इलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएका दुवै भरुवा बन्दुक घटनास्थलमै फेला परेका छन्।
घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब २० किलोमिटर उत्तर र इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ३५ किलोमिटर पश्चिम–उत्तर दिशामा रहेको छ।
प्रहरीले घटनालाई दुर्घटनाजन्य भएको प्रारम्भिक निष्कर्ष निकालेको भए पनि सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ। गोपाल ब्लोन लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।












