हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा अवस्थित डम्पिङ साइटमा भइरहेको फोहोर व्यवस्थापनका क्रममा उत्पन्न प्रदूषणप्रति जेन जी. मकवानपुरले गम्भीर ध्यानाकर्षण गराएको छ। “हरित नगर” को रूपमा परिचित हेटौंडामा पछिल्लो समय फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै स्थानीय बासिन्दाबाट निरन्तर गुनासो आइरहेको संस्थाले जनाएको छ।
स्थानीयवासीका अनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको आधिकारिक संस्थाले नियोजित रूपमा डम्पिङ साइटमा आगो लगाउने गरेको आरोप छ। सो क्रममा फोहोरमा लागेको आगोबाट निस्कने धुवाँ, धुलो तथा प्लास्टिकजन्य पदार्थ जलेर उत्पन्न हुने घातक रासायनिक प्रदूषणका कारण क्यान्सरजस्ता गम्भीर रोग देखिन थालेको आसपासका बासिन्दाहरूको गुनासो रहेको छ।
त्यसैगरी, फोहोर संकलन शुल्क निर्धारण प्रक्रियामा समेत व्यापक असन्तुष्टि देखिएको छ। जेन जी. मकवानपुरले गरेको अध्ययनअनुसार अन्य उपमहानगरपालिकाको तुलनामा हेटौंडामा बढी शुल्क लिइएको पाइएको जनाएको छ। फोहोर संकलनसम्बन्धी बोलपत्र आह्वान प्रक्रियामा सिण्डिकेट रहेको आशंका पनि संस्थाले व्यक्त गरेको छ।
यस विषयमा पीडित स्थानीयवासीहरूसँग हेटौंडा उपमहानगरपालिका तथा सरोकारवाला निकायहरूले विभिन्न समयमा समस्या समाधान गर्ने सहमति गरे तापनि हालसम्म ठोस समाधान हुन नसकेको गुनासो रहेको जनाइएको छ। पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया नआएको भन्दै आम नागरिकमा निराशा बढ्दै गएको उल्लेख गरिएको छ।
जेन जी. मकवानपुरका संयोजक सुविन खत्रीले डम्पिङ साइटबाट उत्पन्न प्रदूषणले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेको भन्दै उपमहानगरपालिकाले तत्काल प्रभावकारी र दीर्घकालीन समाधानको पहल गर्नुपर्ने माग गरेका छन्।

















