हेटौंडा / हेटौडा उपमहानगरपालिका–९ स्थित प्रगति चोकको पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
मिति २०८२ साल ९ महिना ३ गते बिहान करिब ९ः४५ बजे हेटौडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको EV गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। त्यसपछि सोही EV गाडीले पुनः बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपमा समेत ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा EV गाडी, स्कुटर र स्कार्पियो पिकअप गरी तीनवटै सवारी साधनमा क्षति पुगेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली घटनास्थलमा खटिएको थियो। हाल तीनवटै सवारी साधन प्रहरी कार्यालयमा ल्याई राखिएको छ।
दुर्घटनामा घाइते भएका मध्ये सरस्वती राणा, हेमसाङ तामाङ, राजकुमारी तामाङ, सुमन लामा, टिका प्रसाद तिमिल्सिना, दिपक रुम्बा र ५ वर्षीया ग्रेसी रुम्बा रहेका छन्। सबै घाइतेको अवस्था सामान्य रहेको र हेटौडा अस्पताल तथा मकवानपुर सहकारी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
स्कार्पियो पिकअप चालक भोजपुर षडानन्द नगरपालिका–१० निवासी ३९ वर्षीय दिनेश तामाङ प्रहरीको सम्पर्कमा रहेका छन्। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















