हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस डे को अवसरमा गाउँपालिका भित्र तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय, कालिकाटारद्वारा जारी सूचनाअनुसार इसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष जिसस क्राइष्टको जन्मदिनको सम्झनामा हर्षोल्लासपूर्वक मनाउने क्रिसमस डे का अवसरमा पौष १०, ११ र १२ गते (तदनुसार सन् २०२५ डिसेम्बर २५, २६ र २७ तारिख) गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्।
गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले यस्ता धार्मिक चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेको समाजमा आपसी सद्भाव, सहिष्णुता, ऐक्यबद्धता र सामाजिक एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गर्दै शान्त, समुन्नत तथा समृद्ध कैलाश निर्माणमा सबै नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उहाँको भनाइ छ।
क्रिसमस डे का अवसरमा दिइएको सार्वजनिक बिदाले धार्मिक सहिष्णुता, सांस्कृतिक सम्मान र सामाजिक सद्भाव प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।

















