मनहरीमा काँग्रेसको संगठन सुदृढीकरण अभियान, जनप्रतिनिधि सम्मान र नयाँ प्रवेश

Image

हेटौंडा / नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा वडा तहका नेतृत्वलाई सम्मान गरेको छ। शनिबार मनहरीमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पार्टीतर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ६ जना वडाध्यक्ष तथा ९ वटै वडाका पार्टी सभापतिहरूलाई सम्मान गर्दै उनीहरूको भूमिका र योगदानको कदर गरिएको आयोजकले जनाएको छ। साथै, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई संगठन निर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।

नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकास्तरीय नेता–कार्यकर्ताहरूको सहभागितामा संगठनात्मक गतिविधि, जनआधारित राजनीति र आगामी महाधिवेशनको तयारीका विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमकै अवसरमा विभिन्न पार्टी परित्याग गरी १० जना स्थानीय नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्, जसलाई संगठन विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
मुख्यमन्त्री बानियाँले मन्तव्यका क्रममा लोकतान्त्रिक मूल्य र जनसेवामूलक राजनीतिलाई अझ बलियो बनाउँदै स्थानीय तहमा काँग्रेसको भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, मुख्यमन्त्री बानियाँले मनहरीस्थित मनकामना मन्दिरको संरक्षण तथा पुनर्निर्माणका लागि मन्दिर व्यवस्थापन समितिलाई व्यक्तिगत रूपमा ७५ हजार रुपैयाँ नगद सहयोग प्रदान गर्दै सामाजिक तथा सांस्कृतिक उत्तरदायित्वप्रति पार्टीको प्रतिबद्धता पनि स्पष्ट पार्नुभएको छ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।