हेटौडा/ मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित श्री निर्मल माध्यमिक विद्यालयले आफ्नो ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) पाँच दिनसम्म आयोजना गर्दैछ। विद्यालयले २०८२ पौष ८ देखि १२ गतेसम्म भव्य कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
विद्यालयले प्रेस विज्ञप्तिमार्फत पत्रकार, टेलिभिजन, एफएम र अनलाइन मिडियामा आवद्ध सबैलाई उपस्थित हुन निमन्त्रणा गरेको छ। समारोहमा विद्यालय गीत र डकुमेन्ट्री सार्वजनिक, स्मारक स्तम्भ अनावरण, निर्मल स्मारिका प्रकाशन, शिक्षक र विद्यार्थी प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान, लोकदोहरी कार्यक्रम लगायत १६ वटा विविध गतिविधिहरू हुनेछन्।
मुख्य कार्यक्रम तालिका:
• पौष ८ गते: उद्घाटन – मुख्यमन्त्रीद्वारा स्तम्भ अनावरण, विद्यालय गीत र डकुमेन्ट्री सार्वजनिक, स्काउट मार्च प्रतियोगिता
• पौष ९ गते: नगरस्तरीय पुरुष भलिवल प्रतियोगिता
• पौष १० गते: जिल्ला स्तरिय शिक्षक नृत्य प्रतियोगिता, वृहत स्वास्थ्य शिविर र रक्तदान, नगरस्तरीय विद्यार्थी हाजिरी जवाफ प्रतियोगिता
• पौष ११ गते: नगरस्तरीय विद्यार्थी नृत्य प्रतियोगिता
• पौष १२ गते: समापन – भौतिक पूर्वाधार विकास मन्त्रीद्वारा कार्यक्रम समापन
विद्यालयका पदाधिकारीहरूले जनाएका छन् कि कार्यक्रमलाई भव्य र स्मरणीय बनाउन स्थानिय र राष्ट्रिय कलाकारको सहभागिता, सरकारी निकाय र समाजसेवीहरूको सहयोग रहेको छ।
यो उत्सवले विद्यालयको ५० वर्षको ऐतिहासिक योगदान र शैक्षिक सेवामा शिक्षक, विद्यार्थी र समुदायको समर्पणलाई सम्मान गर्ने उद्देश्य राखेको छ।













