हेटौँडा / जनप्रतिनिधिले पाउने सेवा–सुविधा व्यक्तिगत उपभोगभन्दा नागरिकको जीवनस्तर सुधारमा खर्च हुन सक्ने उदाहरण बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री बानियाँले आफ्नै सेवा–सुविधाबाट खर्च जुटाई मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीका लागि सुरक्षित आवास निर्माण गरिदिएका छन् ।
शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले धुसर लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरे । अति विपन्न अवस्थाको पहिचान गर्दै कैलाश गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्रीले व्यक्तिगत स्रोतबाट निर्माण प्रक्रिया अघि बढाएका हुन् ।
करिब ८ लाख रुपैयाँको लागतमा तीन कोठे जस्ताले छाएको घर तथा शौचालय निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए । पचास वर्षीय लालकुमार लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए भने सानै उमेरमा हात जलेर उनकी पत्नी सानुमाया आंशिक अपांग भएकी छन् । नम्बरी र ऐलानी जग्गा भए पनि आर्थिक अभावका कारण उनीहरू सुरक्षित आवास बनाउन असमर्थ थिए ।
घर हस्तान्तरणसँगै ओढ्ने, ओच्छ्याउने तथा लत्ताकपडाको व्यवस्थापन गाउँपालिकाले गरिदिने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकका लागि व्यक्तिगत तहबाट मात्रै नभई प्रदेश सरकारमार्फत समेत आवास कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
प्रदेशभरका गरिब, दलित, सिमान्तकृत, एकल महिला तथा आवासविहीन परिवारलाई लक्षित गरी एक हजार घर निर्माण गर्ने कार्यविधि तयारीको चरणमा रहेको मुख्यमन्त्रीको भनाइ थियो । घरसँगै आयआर्जनका लागि प्रति परिवार दुई लाख रुपैयाँसम्म बिना ब्याज ऋण उपलब्ध गराइने योजना रहेको उनले बताए ।
कार्यक्रमकै क्रममा मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीलाई बाख्रापालनमार्फत आत्मनिर्भर बन्न आग्रह गर्दै नगद २० हजार रुपैयाँ सहयोगसमेत प्रदान गरे । यसअघि पनि उनले मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको लागि सात लाख रुपैयाँ लागतमा घर निर्माण गरिसकेका छन् भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माण कार्य जारी रहेको छ ।
घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतले मुख्यमन्त्रीको कदमलाई उदाहरणीय भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

















