राक्सिराङ्ग गाउँपालिकामा क्रिसमसको अवसरमा तीन दिन सार्वजनिक बिदा

Image

हेटौंडा / इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान् पर्व क्रिसमसको अवसरमा मकवानपुरस्थित राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय, राक्सिराङ्गद्वारा जारी सूचनाअनुसार गाउँपालिकाभित्र इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेकाले मिति २०८२ साल पुस १०, ११ र १२ गते (तदनुसार सन् २०२५ डिसेम्बर २५, २६ र २७ तारिख) सार्वजनिक बिदा प्रदान गरिएको हो। उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक तथा सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरू बन्द रहने जनाइएको छ।

यसै अवसरमा गाउँपालिकाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।

गाउँपालिकाले जारी गरेको शुभकामना सन्देशमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको राक्सिराङ्ग गाउँपालिकामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्दै बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि हुने अपेक्षा गरिएको उल्लेख छ। साथै, यस पर्वले शान्त, समुन्नत र समृद्ध राक्सिराङ्ग निर्माणमा सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी सम्मान नै स्थानीय विकासको आधार भएको भन्दै यस्ता पर्वहरूले समुदायबीच एकता बलियो बनाउने बताए।