कैलाश गोपीराङका १० घरमा शौचालय निर्माण हुँदै

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका–१० गोपीराङमा १० घरधुरीमा शौचालय निर्माण हुने भएको छ। तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त क्षेत्रमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयवासी खुसी भएका छन्।

मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्न आग्रह गरे। “खाल्डो खनिसक्नुभएको छ, अब तोकिएको समयभित्र निर्माण पूरा गर्नुस्,” उनले भने।

राज्यले अघि सारेको ‘एक घर, एक धारा’ अवधारणाअन्तर्गत शौचालय र सरसफाइ पनि महत्वपूर्ण सूचक रहेको अध्यक्ष मुक्तानले बताए। जथाभावी दिशा–पिसाब गर्दा विभिन्न रोग तथा पानीजन्य रोग लाग्ने भएकाले शौचालयमै प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। साथै, घरसँगै शौचालय निर्माण गर्नु नागरिकको दायित्व भएको उल्लेख गर्दै अब झाडी, खोल्सा र खोलाकिनारको भर पर्न नहुने बताए।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। शौचालय निर्माणपछि बालबालिका तथा वयोवृद्धलाई सहज हुने उनले बताए। वडामा करिब ३५–३६ घरधुरी रहेकामा पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माण गरिने र समयमै निर्माण सम्पन्न भए दोस्रो चरणमा थप १० घरधुरीलाई निर्माण सामग्री वितरण गरिने जानकारी दिए।

बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीका लागि शौचालय निर्माणमा आवश्यक सम्पूर्ण सामग्री सहयोग गरेको हो। यसअघि कैलाश गाउँपालिका–३ खिर्कीमा २० घरधुरीलाई सामग्री हस्तान्तरण गरी निर्माण कार्य भइरहेको छ।

संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हस्तान्तरण कार्यक्रममा बाल विकास कार्यक्रम नेपालका कार्यक्रम संयोजक कमल अर्याल, हरिबहादुर भण्डारी, सावित्री लामा, रामलाल स्याङ्बोलगायतको उपस्थिति रहेको थियो।

संस्थाको नियम र लाभग्राहीसँग भएको सम्झौताअनुसार सामग्री हस्तान्तरण गरिएको २५ दिनभित्र शौचालय निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ। शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवा लगायतका सामग्री वितरण गरिएको हो।