राक्सिराङ्ग गाउँपालिकामा उन्नाइसौं गाउँसभा हुने मुख्यमन्त्रीद्वारा नयाँ प्रशासकीय भवन उद्घाटन गरिने

Image

हेटौंडा/ राक्सिराङ्ग गाउँपालिकाको उन्नाइसौँ (हिँउदे) गाउँसभा अधिवेशन पुस २३ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ। गाउँपालिकाको कार्यालय, चैनपुरस्थित सभाहलमा अधिवेशन आयोजना गरिने गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) बमोजिम गाउँसभाका सदस्यहरूलाई सूचना दिँदै अधिवेशन आह्वान गरिएको हो। उक्त अधिवेशनको प्रारम्भिक सत्रसँगै राक्सिराङ्ग गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोह समेत आयोजना गरिने भएको छ। उद्घाटन समारोह बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँबाट सम्पन्न हुने कार्यक्रम रहेको छ।

गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा, आर्थिक वर्ष २०८२/०८३ को विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन, न्यायिक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ सम्मको बेरुजु नियमितीकरण तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयकमाथि छलफल हुने जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले तोकिएको मिति, समय र स्थानमा गाउँसभाका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित भई अधिवेशन सफल बनाउन आग्रह गर्नुभएको छ।

राक्सिराङ्ग गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, पर्यावरण र पूर्वाधारलाई विकासको आधार मानेर अघि बढिरहेको जनाएको छ।