हेटौंडा/ हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्ना निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै नयाँ इतिहास रचेको छ। विद्यालयले आफ्नै आन्तरिक स्रोत प्रयोग गरी शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो सामुदायिक विद्यालय बनेको छ।
सामाजिक सुरक्षा कोष स्थापना अभियानका अभियन्ता तथा जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले एक कार्यक्रमका बीच सामाजिक सुरक्षा कोषका आबद्ध सदस्य कार्ड वितरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालयहरूले पनि श्रम अधिकार र सामाजिक सुरक्षाको सुनिश्चिततामा नेतृत्वदायी भूमिका खेल्न सक्ने उदाहरण भुटनदेवी माविले प्रस्तुत गरेको बताउनुभयो।
विद्यालय प्रशासनका अनुसार यस कदमले शिक्षक तथा कर्मचारीको दीर्घकालीन सामाजिक र आर्थिक सुरक्षा सुनिश्चित गर्नुका साथै संस्थागत उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

















