हेटौंडामा एआई आधारित बहुभाषिक सूचना प्लेटफर्म ‘दागाची एप’ सार्वजनिक

Image

हेटौंडा — एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज आयोजित पत्रकार सम्मेलनमा एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली तथा भावी योजनाबारे विस्तृत जानकारी दिनुभयो।

प्रतिनिधि सापकोटाका अनुसार दागाची एपको मुख्य उद्देश्य कोरियामा कार्यरत तथा भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोधबिनै सही, सहज र विश्वसनीय सूचना उपलब्ध गराउनु हो।

हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी तथा पर्यटकले सरकारी सूचना बुझ्न, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया तथा आपतकालीन अवस्थामा सही निर्णय लिन विभिन्न कठिनाइ भोग्दै आएका छन्। यस्ता समस्याको समाधानका लागि दागाची एप विकास गरिएको सापकोटाले बताए।

दागाची एपले हाल १६ भन्दा बढी भाषामा सूचना सेवा प्रदान गर्दै आएको छ। एपमार्फत श्रम, भिसा, स्वास्थ्य, कानुन, रोजगारी, घर/कोठा खोजी, विश्वविद्यालय भर्ना प्रक्रिया, आपतकालीन सहायता तथा सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराइएको छ। एआई आधारित सरल र सुरक्षित प्रणाली प्रयोग गरिएको उनले जानकारी दिए।

यो एपलाई केवल सूचना दिने माध्यममा मात्र सीमित नराखी विदेशी नागरिकका लागि विश्वसनीय डिजिटल सहायक को रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको सापकोटाले स्पष्ट पारे।

त्यसैगरी नेपालमा रहेका विदेशी नागरिकले नेपाली समाज, सेवा, स्वास्थ्य, कानुन, अवसर तथा आर्थिक गतिविधिसम्बन्धी जानकारी आफ्नै मातृभाषामा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यस एपमार्फत नेपाली उद्यमीहरूले आफ्ना सेवा तथा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सक्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

हालै सम्झौता भएका संस्थालाई दागाची एपमा प्रमाणित चिन्ह (Verified Badge) प्रदान गरिने तथा सदस्यता सेवा सञ्चालनमा ल्याइएको जानकारी पनि दिइयो। सञ्चारकर्मीका लागि कोरिया तथा अन्य मुलुकका प्रमुख समाचार नेपाली भाषामा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

आगामी दिनमा एपमा थप नयाँ सुविधा समावेश गरिने र समय–समयमा आवश्यक जानकारी सार्वजनिक गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमको अन्त्यमा नेपाल प्रतिनिधि सापकोटाले सञ्चारकर्मीलाई धन्यवाद दिँदै पत्रकारका प्रश्नको उत्तर दिनुभएको थियो। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्ष धुब्र अधिकारी, भावना रिजाल लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।