हेटौंडा/ जेसीआई हेटौंडाको २०२६ वर्षको नेतृत्वका लागि भएको निर्वाचनमा सन्तोष पराजुली अध्यक्ष पदमा विजयी भएका छन्।
शनिबार हेटौंडामा सम्पन्न शाखाको अधिवेशनमा पराजुलीले आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। निर्वाचनमा कुल १८७ मत खसेकोमा पराजुलीले १०७ मत प्राप्त गरे भने ढकालले ७८ मत पाएका छन्। निर्वाचन समितिले २ मत बदर भएको जनाएको छ।
अध्यक्षसँगै पराजुलीको प्यानलले पनि नेतृत्व पक्का गरेको छ। कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार निर्विरोध निर्वाचित भए भने अन्य उपाध्यक्षमा विवेक बानिया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध विजयी भएका छन्।
विजयी भएपछि अध्यक्ष पराजुलीले जेसीआईको मूल उद्देश्यअनुसार युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थालाई नयाँ उचाइमा पुर्याउन सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको बताए।
जेसीआई हेटौंडा युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था हो, जहाँ हरेक वर्ष लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्ने परम्परा कायम छ।

















