मकवानपुरमा ३० बिगहा क्षेत्रफलमा फैलिएको अवैध गाँजा तथा अफिम खेती फडानी

Image

हेटौंडा /मकवानपुर जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको लागू औषध गाँजा तथा अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। मिति २०८२ साल ०९ महिनाको ११ गतेदेखि १४ गतेसम्म बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडा; जिल्ला प्रहरी कार्यालय, मकवानपुर; बागमती प्रदेश प्रहरी गण, हेटौडा; विपद् व्यवस्थापन गुल्म, हेटौडा तथा मातहत प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।

प्रहरी टोलीले राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको लागू औषध खेती फडानी गरेको हो। सो क्रममा गाँजा खेती अन्दाजी २१ बिगहा र अफिम खेती अन्दाजी ९ बिगहा गरी जम्मा ३० बिगहा क्षेत्रफलमा फैलिएको अवैध खेती नष्ट गरिएको प्रहरीले जनाएको छ।

लागू औषध नियन्त्रण तथा समाजलाई लागू औषधमुक्त बनाउने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जानकारी दिएको छ। साथै अवैध लागू औषध खेती, उत्पादन तथा ओसारपसारमा संलग्नलाई कानुनी दायरामा ल्याइने समेत प्रहरीले स्पष्ट पारेको छ।