राक्सिराङ्ग कृषि हाटबजार सञ्चालनमा, स्थानीय उत्पादनलाई प्राथमिकता

Image

हेटौंडा/ स्थानीय उत्पादनको प्रबर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ्ग कृषि हाटबजार आजदेखि सञ्चालनमा आएको छ। हाटबजारको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा तथा राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले संयुक्त रूपमा गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री सन्त चेपाङ, अग्नि होत्र आश्रमका प्रमुख डा. सिताराम खनाल, अगुवा कृषक राम बहादुर बस्नेतलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हाटबजारमा स्थानीय तथा परम्परागत उत्पादनहरूलाई प्राथमिकता दिइएको छ। यहाँ गहत, मास, फापर, कोदोको पिठो, आलु, पिँडालु, सालको पातबाट बनाइएका दुना–टपरी, फलामे औजारहरू तथा गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नु जस्ता स्थानीय परिकारहरू बिक्रीका लागि राखिएका छन्।

त्यसैगरी लोकल कुखुरा, बंगुरको मासु, ताजा तरकारी, स्थानीय स्तरमा उत्पादित मौरी र चिउरीको मह समेतका दर्जनौँ स्टलहरू हाटबजारमा सञ्चालनमा रहेका छन्।

हाटबजार सञ्चालनमा आएपछि स्थानीय किसान तथा उत्पादकलाई आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बिक्री गर्न सहज हुने र स्थानीय उत्पादनको खपत बढ्दै स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।