मापासे चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई कारले ठक्कर, दोषी सवारी फरार

Image

हेटौंडा / हिजो राति हेटौंडा ११ राप्ती पुल छेउमा मापासे चेकजाँच गर्ने क्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुर अगाडि ड्युटीमा रहेका एक जना ट्राफिक प्रहरीलाई लाइट कारले ठक्कर दिँदा उनी घाइते भएका छन्।

दुर्घटनामा परेका ट्राफिक प्रहरीको टाउको, घुँडा र ओठमा चोट लागेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ। घाइते प्रहरीलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो भने उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ।

ठक्कर दिने सवारी साधन रातो नम्बर ८४०९ प्लेटको नेपाली गाडी (कार) रहेको र घटना लगत्तै फरार भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ। हाल फरार सवारी साधन र चालकको खोजी कार्य तीव्र पारिएको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।