ट्राफिक प्रहरीलाई घाइते बनाई फरार चालक र कार नियन्त्रणमा

Image

हेटौंडा/ मकवानपुर, मिति २०८२।०९।१७ — डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घाइते बनाई फरार भएका कार चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकजाँच डिउटीमा खटिएको प्रहरी टोलीले नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई रोकी जाँच गर्ने क्रममा चालकलाई ब्रेथलाइजर मेसिनबाट मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गर्न लागिएको थियो।

सोही क्रममा कार चालकले एक्कासी सिसा बन्द गरी भाग्ने प्रयास गर्दा डिउटीमा खटिएका एक प्रहरी जवानलाई करिब १० मिटर घिसारी घाइते बनाई फरार भएको थियो।

घटनापछि प्रहरीले उक्त कार र चालकको खोजतलास गर्ने क्रममा मिति २०८२।०९।१८ गते चितवन जिल्ला भरतपुरबाट बा ६ च ८४०९ नं.को कार र चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ५ गर्दैई बस्ने वर्ष ४६ का बासुदेव आचार्यलाई कारभित्र रहेको ब्रेथलाइजर मेसिनसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका चालक तथा सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।