बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ

Image

हेटौंडा । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट खटिएको प्राविधिक ल्याब टेक्निसियनको सहयोगमा लागुऔषध परीक्षण गरिएको थियो। परीक्षणमा उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर तथा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन्।

त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी तथा धादिङको गल्छी घर भई काठमाडौँ चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी ऐन अनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।