हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा एक महत्वपूर्ण कार्यक्रमको आयोजना गर्दै १९ औँ गाउँसभा (हिँउदे) अधिवेशन तथा नयाँ प्रशासकीय भवनको औपचारिक उद्घाटन गरिएको छ।
कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाअध्यक्षतामा सम्पन्न भएको हो भने बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले रिबन काटेर प्रशासकीय भवनको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले स्थानीय तहको प्रशासनिक क्षमता अभिवृद्धि गर्न आधुनिक र सुविधासम्पन्न प्रशासकीय भवन अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै जनताको जीवनस्तर सुधार गर्ने योजनामा निरन्तर लागिरहेको पनि उल्लेख गर्नुभयो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले १९ औँ गाउँसभा गाउँपालिकाका लागि नीति, योजना तथा विकासको मार्गचित्र कोर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले जनताको आवश्यकता र अपेक्षा अनुसार सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम स्थलमा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी–३ का वडाध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। यस्तै कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले नयाँ प्रशासकीय भवनको संरचना, सुविधा तथा वातावरणप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए।
उक्त अवसरमा गाउँपालिकाको समग्र विकास, सेवा सुधार तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरूबारे समेत छलफल गरिएको जनाइएको छ। साथै कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

















