हेटौंडा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न मकवानपुर जिल्लामा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबारदेखि भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार भर्ना गरिने कुल जनशक्तिमध्ये कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था गरिएको छ। निर्वाचन सुरक्षामा महिला सहभागिता बढाउने उद्देश्यले यो प्रावधानलाई प्राथमिकताका साथ लागू गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुष्कर बोगटीका अनुसार इच्छुक नेपाली नागरिकले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनमा समेत आवेदन लिइने जानकारी दिइएको छ।
गृह मन्त्रालयबाट स्वीकृत मापदण्डअनुसार निर्वाचन प्रहरीका लागि नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक–मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ। साथै पुरुष र महिलाका लागि छुट्टाछुट्टै शारीरिक मापदण्ड पनि निर्धारण गरिएको छ।
भर्ना प्रक्रियामा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पूर्व बन रक्षक, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको रूपमा सन्तोषजनक सेवा गरेका तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षण उत्तीर्ण गरिसकेका व्यक्तिलाई प्राथमिकता दिइनेछ। यसले अनुभवी जनशक्ति प्रयोग गरी निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
निर्वाचन प्रहरीलाई १० दिन तालिम र करिब ३० दिन फिल्ड ड्युटीमा खटाइनेछ। आवश्यकता अनुसार कार्यअवधि घटबढ हुन सक्ने व्यवस्था पनि गरिएको छ।
सुविधाका रूपमा निर्वाचन प्रहरीलाई जवान सरहको तलब, रासन भत्ता, यातायात खर्च, खाजा खर्च र पोशाक भत्ता उपलब्ध गराइनेछ। करिब ४० दिनको अवधिका लागि एक जनाले झण्डै ३४ हजार रुपैयाँ तलब पाउने व्यवस्था छ। सबै रकम सम्बन्धित व्यक्तिको बैंक खातामै पठाइनेछ।
कर्तव्य पालनाका क्रममा घाइते वा मृत्यु भएमा सरकारले तोकेअनुसार क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ। तर तोकिएको स्थानमा उपस्थित नभएमा वा जिम्मेवारी छाडेमा कुनै पनि सुविधा नदिइने स्पष्ट गरिएको छ।

















