उपभोक्ता सुरक्षामा जोडः सहारा ग्यासद्वारा जोखिमयुक्त ७३६ सिलिन्डर नष्ट

Image

हेटौंडा/ हेटौँडा–३ स्थित सहारा ग्यास इण्डस्ट्रिज प्रालिले उपभोक्ताको ज्यान र सम्पत्ति सुरक्षालाई ध्यानमा राख्दै प्रयोगयोग्य नरहेका ७ सय ३६ वटा एलपी ग्यास सिलिन्डर नष्ट गरेको छ। म्याद सकिएका, हाइड्रोलिक परीक्षणमा असफल भएका तथा प्राविधिक रूपमा जोखिमयुक्त ठहरिएका ती सिलिन्डर शुक्रबार उद्योग परिसरमै नष्ट गरिएको हो।

नेपाल आयल निगम वीरगञ्ज शाखा, गुणस्तर तथा नापतौल विभाग, हेटौँडा उपमहानगरपालिका–३, ग्यास व्यवसायी संघ, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सिलिन्डर नष्ट गरिएको उद्योगले जनाएको छ। यस प्रक्रियाले ग्यास प्रयोगका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्योगका प्रबन्धक खडगबहादुर थापाका अनुसार प्रयोगमा रहेका केही सिलिन्डरहरूमा लिकेज, प्वाल परेको, नेकरिङ बिग्रिएको तथा म्याद सकिन लागेको अवस्था फेला परेपछि तिनलाई पूर्ण रूपमा नष्ट गर्ने निर्णय गरिएको हो। “१० देखि १२ वर्षसम्म प्रयोग भई परीक्षणमा फेल भएका सिलिन्डरहरू नष्ट गर्दै आएका छौँ, यसले बजारमा सुरक्षित सिलिन्डर मात्र पुर्‍याउने हाम्रो प्रतिबद्धता देखाउँछ,” उनले बताए।

यसअघि पनि नियमित रूपमा गुणस्तरहीन सिलिन्डर नष्ट गर्दै आएको सहारा ग्यासले आगामी दिनमा समेत सिलिन्डर परीक्षण र अनुगमनलाई निरन्तरता दिने जनाएको छ। हाल उद्योगले दैनिक करिब २ हजार ८ सय सिलिन्डर बजारमा आपूर्ति गर्दै आएको छ।