इन्द्रसरोवरमा माघ १९ देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुदै

Image

हेटौँडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १९ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता माघ १९ देखि २१ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो।

पन्तका अनुसार इन्द्रसरोवर–२ स्थित गाउँपालिकाको खेलमैदानमा प्रतियोगिता आयोजना हुनेछ। गाउँ कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको छ।
प्रतियोगितामा छात्र र छात्रातर्फ छुट्टाछुट्टै भलिबल तथा एथ्लेटिक्स विधाका विभिन्न प्रतिस्पर्धा गराइनेछन्। एथ्लेटिक्सतर्फ रिले दौड, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट समावेश छन्।

चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रत्येक खेलाडीले एउटा विधामा मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ। एथ्लेटिक्सका इभेन्टमा भने एक खेलाडीले बढीमा एक फिल्ड र दुई ट्रयाक वा दुई फिल्ड र एक ट्रयाक इभेन्टमा मात्र सहभागिता जनाउन पाउनेछन्।

इच्छुक विद्यालयहरूले आगामी माघ ९ गते दिउँसो १२ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ।