हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८२ साल ९ महिना २७ गते दिउँसो करिब १२:५५ बजे हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको हार्डवेयर सामान बोकेको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी करिब ४० वर्षीय सूर्य बहादुर मोक्तान गम्भीर घाइते भएका थिए। घाइते मोक्तानलाई सुरुमा मनहरी अस्पताल लगिएको थियो भने थप उपचारका लागि एलाईभ अस्पताल भरतपुर र त्यसपछि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो २ बजेर ३५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
ट्रक चालक हेटौडा उपमहानगरपालिका–११, थानाभर्याङ निवासी करिब ५४ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि सो स्थानमा सवारी आवागमन भने अवरुद्ध भएको थिएन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

















