हेटौंडा/ हेटौंडामा नागरिकलाई सुरक्षित र गुणस्तरीय खानेपानी सुनिश्चित गर्ने उद्देश्यसहित अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको उक्त प्रयोगशालाको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गरेकी हुन्।
उद्घाटन कार्यक्रममा नगर प्रमुख लामाले सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै नयाँ प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक, विश्वसनीय र मापदण्डअनुसार बनाउने विश्वास व्यक्त गरिन्। उनका अनुसार यसले स्थानीय तहमा जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनेछ।
प्रयोगशालाबाट अब हेटौंडा र मकवानपुर जिल्लामा मात्र सीमित नरही मधेस प्रदेश तथा छिमेकी जिल्लाबाट आउने पानीका नमूनाहरूको समेत परीक्षण सेवा उपलब्ध गराइने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ। यसले क्षेत्रीय स्तरमै गुणस्तरीय परीक्षण सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले प्रारम्भिक चरणमै राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार २८ प्रकारका भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षण गरिने जानकारी दिए। यसअघि सामान्य उपकरण प्रयोग हुँदै आएको भए पनि अब आधुनिक उपकरणबाट परीक्षण गर्दा नतिजा अझै विश्वसनीय हुने उनले बताए।
प्रयोगशाला स्थापना तथा उपकरण खरिदका लागि कुल ३४ लाख ५० हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ। यसमध्ये संघीय सरकारबाट ११ लाख रुपैयाँ र बोर्डबाट २३ लाख ५० हजार रुपैयाँ व्यहोर्ने व्यवस्था गरिएको छ। उपकरण आपूर्ति र जडान काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले बोलपत्र प्रक्रियामार्फत २२ लाख रुपैयाँमा सम्पन्न गरेको हो।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सार मगरले प्रयोगशालाको स्थापना नागरिक स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो।

















