सिद्धार्थ माविको स्वर्ण जयन्ती: शिक्षा, सेवा र संस्कृतिको उत्सव माघ २ देखि ८ गतेसम्म

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयले माघ २ गतेदेखि ८ गतेसम्म शिक्षा, सामाजिक उत्तरदायित्व, स्वास्थ्य तथा सांस्कृतिक कार्यक्रमसहित भव्य समारोह मनाउने तयारी गरेको छ।

स्वर्ण जयन्तीको अवसर पारेर विद्यालयले समाजप्रति आफ्नो जिम्मेवारीलाई पनि जोड दिएको छ। यसैक्रममा पुष २४ र २५ गते हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको थियो। साथै पुष २८ गते विद्यार्थी लक्षित दन्त परीक्षण शिविर पनि सम्पन्न भइसकेको विद्यालयले जनाएको छ।

कार्यक्रमको तयारीस्वरूप माघ २ गते विद्यालय परिसर सरसफाइ तथा रंगरोगन गरिनेछ। माघ ३ गते बिहान रक्तदान कार्यक्रम आयोजना हुने छ भने त्यसपछि शैक्षिक सामग्री प्रदर्शनी सञ्चालन गरिने प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिए।
माघ ४ गते झाँकी र्यालीसहित स्वर्ण जयन्तीको औपचारिक उद्घाटन गरिनेछ। सो अवसरमा स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, सम्मान कार्यक्रम तथा विभिन्न प्रदर्शनीहरू आयोजना गरिनेछन्।

उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
माघ ५ गते पूर्व विद्यार्थी भेला आयोजना गरिनेछ भने विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप प्रस्तुत गरिनेछ। यस दिन प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहने शिक्षक गणेश प्रसाद हुमागाईंले जानकारी दिए।

त्यस्तै माघ ६ गते नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुनेछ, जसमा उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनेछन्। माघ ७ गते बृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक र खेलकुद पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथि रहनेछन्।

स्वर्ण जयन्ती कार्यक्रमको समापन माघ ८ गते हुनेछ। समापन समारोहमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा प्रमुख अतिथि रहने स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक विष्णु गोपाल महर्जनले बताए।

वि.सं. २०३२ साल माघ ८ गते स्थापना भएको सिद्धार्थ माध्यमिक विद्यालय सुरुमा सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा आएको थियो। विद्यालयको शैक्षिक विकासमा विभिन्न व्यक्तित्व तथा दाताहरूको उल्लेखनीय योगदान रहँदै आएको छ।

हाल विद्यालयमा कानुन, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन हुँदै आएको छ। साथै विद्यालयले खुला विद्यालय (कक्षा १०) तथा कक्षा ११–१२ सञ्चालन गर्दै जिल्लामा गुणस्तरीय शिक्षाको पहिचान बनाउँदै आएको छ।

स्वर्ण जयन्ती समारोहलाई विद्यालयले विगतको सम्मान, वर्तमानको उत्सव र भविष्यप्रतिको प्रतिबद्धताको रूपमा मनाउने तयारी गरेको जनाएको छ।