मकवानपुरमा खेलकुद, कृषि र व्यापार एकै थलोमा जोड्ने बृहत् महोत्सव २८ देखि फागुन १२ सम्म हुँदै

Image

हेटौंडा /मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। खेलकुद, कृषि, पर्यटन र व्यापारलाई एउटै प्लेटफर्ममा जोड्दै जिल्लाको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको जानकारी दिँदै समितिका अध्यक्ष राजकुमार मोक्तानले खेलकुदको प्रवर्द्धनसँगै आर्थिक तथा पर्यटन गतिविधिलाई समेत चलायमान बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै युवालाई खेलतर्फ आकर्षित गर्ने माध्यमको रूपमा काम गर्नेछ।

महोत्सव माघ २८ गतेदेखि फागुन १२ गतेसम्म हेटौँडा–१० स्थित टीसीएन चौरमा सञ्चालन हुनेछ। महोत्सवस्थलमा कृषि, घरेलु उत्पादन तथा व्यापारसम्बन्धी करिब ४ सय स्टल रहनेछन्, जसले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन प्रदर्शनी तथा बिक्रीको अवसर प्रदान गर्नेछ।

खेलकुदतर्फ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मुख्य आकर्षण रहनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई ४ लाख, दोस्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी जिल्ला स्तरीय भलिबल, कराँते, ब्याडमिन्टन, राष्ट्रिय तेक्वान्दो तथा २२ किलोमिटर दौड प्रतियोगिता पनि समावेश गरिएका छन्।

महोत्सव अवधिभर १० जना उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिने कार्यक्रम पनि राखिएको छ। आयोजकका अनुसार यसले खेलाडीको मनोबल बढाउने र खेल क्षेत्रमा निरन्तरता दिन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

महोत्सवमा खेलकुद मात्र नभई कृषि उत्पादन प्रदर्शनी, घरेलु वस्तुको प्रवर्द्धन, सांगीतिक कार्यक्रम तथा कलात्मक झाँकी समेत प्रस्तुत गरिनेछ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति महोत्सवको अर्को आकर्षण रहनेछ।

करिब ८० लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम छ भने समापन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्ने कार्यतालिका रहेको आयोजकले जानकारी दिएको छ।