हेटौंडा/ हेटौंडामा अवस्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले विद्यालयको २५औँ वार्षिकोत्सव अवसरमा तीनदिने ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ आयोजना गर्ने भएका छन्। आयोजकका अनुसार महोत्सवलाई केवल उत्सवमा सीमित नराखी शिक्षा, खेलकुद र सामाजिक सेवासँग जोडेर सञ्चालन गरिनेछ।
महोत्सवअन्तर्गत जिल्लास्तरीय छात्रा वक्तृत्वकला, उपमहानगरस्तरीय छात्र भलिबल तथा नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र निबन्ध प्रतियोगिता आयोजना गरिनेछन्। प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
कार्यक्रमको अर्को प्रमुख विशेषता सामाजिक उत्तरदायित्वका गतिविधि हुन्। रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, विपन्न ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अभिभावक तथा सेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता लगायत कार्यक्रम महोत्सवमा समेटिएका छन्।
करिब २१ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवलाई सफल बनाउन आयोजकले विद्यार्थी, अभिभावक र सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

















