टौखेलमा १२१ केजी चरेससहित दुई जना पक्राउ

Image

हेटौंडा / २०८२ माघ ६ — जिल्ला मकवानपुरको थाहा नगरपालिका–१० टौखेल क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले १२१.४६ केजी चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२/१०/०६ गते अपराह्न करिब ४:५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय पालुङ तथा चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटोभित्र लुकाइ–छिपाइ राखिएको १२ वटा रबरका डिब्बामा प्याक गरिएको चरेस जस्तो देखिने पदार्थ बरामद गरेको हो।

पक्राउ पर्नेमा अटो चालक जिल्ला मकवानपुर थाहा नगरपालिका–४ रुप्से निवासी वर्ष २९ का घनश्याम बल तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका–५ निवासी वर्ष २१ का सानुकान्छा थिङ रहेका छन्। प्रहरीले उनीहरूलाई अटोसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

उक्त घटनासम्बन्धमा सम्मानित मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।