मकवानपुरको इन्द्रसरोवरमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

Image

हेटौंडा/ मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटना मिति २०८२ साल १० गते ८ गते राति अन्दाजी १:०० बजेको समयमा भएको हो। सर्लाहीबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड गरिएको बोलेरो पिकअप गाडी ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब ५ देखि ७ मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत, मकवानपुरबाट प्र.स.नि. मनोज चौधरीको कमाण्डमा ट्राफिक सहित तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोली करिब १:३० बजे घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको हो।

दुर्घटनामा परेर सर्लाही जिल्ला वरथवा नगरपालिका–१ निवासी अन्दाजी १७ वर्षीय रोहन मण्डल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा काठमाण्डौ मेडिकल कलेजमा बिहान अन्दाजी ४:४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही स्थान निवासी अन्दाजी १६ वर्षीय छोटे पासवानको कम्मरमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। गाडी चालक अन्दाजी २५ वर्षीय रामवली साहलाई सामान्य चोट लागेको छ। दुवै जनाको काठमाण्डौ मेडिकल कलेजमै उपचार भइरहेको छ।

गाडीमा लोड गरिएका करिब ५०० कुखुरामध्ये करिब ३०० वटा मरेका छन् भने बोलेरो गाडीमा पनि क्षति पुगेको छ। हाल गाडी घटनास्थलमै रहेको जनाइएको छ। दुर्घटनास्थल प्रहरी चौकी खानिखेतबाट करिब ४ किलोमिटर पश्चिमतर्फ पर्दछ।